
पूर्णपुष्टि, साउन ११
फुट खेलले निम्त्याएको सामान्य विवादमै मोरङमा एक युवाले ज्यान गुमाउनु परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार आइतबार भएको विवादलाई लिएर सोमबार मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको छुरा प्रहार बाट हत्या भएको हो ।
स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छ÷सात जनाको समूहमा रहेका युवाहरुले अभिषेकमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहार र आक्रमणबाट अभिषेसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन् । उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ ।
सोमबर दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पु¥याएलगतै चिकित्सकले मृत घोषित गरेका थिए ।
घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले दुई युवकलाई नियन्त्रणमा लिएको छ । अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
