Friday, May 1News That Matters

फुल खेतीबाट आत्मनिर्भर उदयपुरका विद्यार्थी

पूर्णपुष्टि, असोज २६ । उदयपुरमा विद्यार्थीहरुले सयपत्री फुलको खेती गरेका छन् । कटारी नगरपालिका–४ स्थित त्रिवेणी माध्यामिक विद्यालयका कृषि प्राविधिक धारतर्फका विद्यार्थीले जिल्लाको दुई स्थानमा सयपत्री फुलको खेती गरेका हुन् ।

बर्सेनि तिहारका समयमा हुने फूलको अभावलाई अन्त्य गर्ने उद्देश्यले कटारी तथा सदरमुकाम क्षेत्रका लागि विद्यार्थीले विद्यालय परिसर र त्रियुगा–१० बोक्सेमा फुलखेती गरेका हुन् । विद्यार्थी राजु ठाकुरका अनुसार कटारी क्षेत्रको लागी विद्यालय परिसरको पाँच कठ्ठा जग्गामा सयपत्री लगाईएको छ । कक्षा १२ को परीक्षापश्चात् गरिने प्रयोगात्मक परीक्षणका लागि फूलखेती गर्नुपर्ने भएपछि जिल्लाको दुई स्थानमा सयपत्री लगाइएको उनले बताए ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले विवश लामिछानेसहित १० विद्यार्थीको समूह बनाएर खेती गरिएको बताएका छन् । बोक्सेमा एक बिघा जग्गा लिजमा लिएर विद्यार्थीहरू व्यावसायिक रूपमा लागिपरेको फूलखेतीमा यसपटक विद्यालयले रु तीन लाख लगानी गरेको प्रधानाध्यापक कार्कीले बताए । विद्यार्थीले यो तेस्रो वर्ष व्यावसायिक फुलखेती गरेको उनले बताए । “गत वर्ष फुुलखेतीबाट भएको नाफाका कारण विद्यार्थीले खेती बढाएका छन्”, उनले भने, “बजारमा सबै उत्पादन लैजान सकिन्छ कि सकिँदैन भन्ने चाहिँ चिन्ताको विषय हो ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालका अनुसार गत वर्ष कटारीको फूल अभाव विद्यार्थीबाटै अन्त्य भएको थियो । “यस वर्ष जिल्लालाई नै सयपत्रीमा आत्मनिर्भर बनाउन सदरमुकाममा फूल उत्पादन भइरहेको उनले बताए । सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले फूलखेतीका साथै व्यावसायिक च्याउखेती पनि गरिरहेको उनले जानकारी दिए । यसअघि थोरै खेती गर्दा तिहारमा मात्रै रु एक लाख हाराहारीमा नाफा भएको विद्यार्थी विनोद कार्कीले बताए । यसपटक खेतीको क्षेत्रफल बढाएकाले आम्दानी पनि बढ्ने उनको अनुमान छ ।