पूर्णपुष्टि, पुष ७
उदयपुर खोटा«ङ् जोड्ने फोक्सिन्टारको पुलबाट सवारी आवतजावत सुरु भएको छ । सगरमाथा लोकमार्गको फोक्सिन्टार स्थित सुनकोसी नदीको नवनिर्मित पुलमा आजबाट यातायात सञ्चालन भए सँगै बर्खामा यामको यात्रा समस्या टरेको छ । ठेक्का लागेको झण्डै दशबर्षपछि पुलमा यातायात सञ्चालन भएको हो ।वारीपारी सडक भएपनि पुल नहुँदा सर्बसाधारणलाई यात्रा कष्टकर बनेको थियो । पुलबाट यातायात सञ्चालन भएसंगै त्यहाँबाट उदयपुर र खोटाङ जोडिएको छ ।
उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने उक्त पुलको ठेक्का २०६९ चैत्र २३ गते लागेको थियो । पुुलको बेरिङकोट, एप्रोज रोड लगायतका काम भने नसकी नै पुल सञ्चालनमा आएको हो । जनताको दवावका कारण पुलको कामै नसकी यातायात सञ्चालन गरिएको पुल सेक्टर नम्बर–१ धरानका योजना प्रमुख प्रदीप भण्डारीले बताए ।

पुल सञ्चालन गर्न खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राई, उपाध्यक्ष रुपेश राई लगायतको उपस्थिति थियो । काममा ढिलासुस्ती भएपछि जनताको माग बमोजिम पुलमा यातायात सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । करिब १९ करोड ६० लाख रुपैयाँको लागतमा गौरी पार्वती वाईपी जेभीले २०७५ चैतमा सक्नेगरी ठेक्का लिएको थियो । अवको एक महिनाभित्रमा काम सक्ने निर्माण कम्पनीले जानकारी दिएको छ ।

