
पूर्णपुष्टि, फागुन २६
बङ्गलादेशबाट खरिद गरिएको २ हजार ५ सय टन रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ ।
पहिलो चरणमा दुई हजार ५ सय टन मल भन्सार आइपुगेको रासायनिक मल खरिदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीले जनाएको छ ।
रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ । नेपाल सरकार र बङ्गलादेश सरकार (जीटूजी) सम्झौताअनुसारको पहिलो चरणको रासायनिक मल नेपाल आइपुगेको हो ।
बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मलमध्येमा पहिलो चरणमा कोलकातामा २२ हजार ५ सय टन रासायनिक मल ल्याइएको कम्पनीले जनाएको छ ।
कोलकाताबाट मल रेल तथा ट्रकमार्फत नेपालमा ल्याइनेछ । गत बिहीबार कोलकाताबाट ६ ट्रकमा २ सय ५० टन मल विराटनगरका लागि ल्याइएको थियो । यसैगरी आज पुनः रेलमा २ हजार ५सय टन मल नेपालका लागि हिडिसकेको छ । रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ ।
कृषि सामग्री कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौताअुनसार बङ्गलादेशसँग प्रति मेट्रिक टन १८ डलरमा सम्झौता भएको हो । जीटूजीमार्फत मल ल्याउन गएको कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो ।
