
– टङ्कबहादुर आलेमगर
त्रियुगा नगरपालिका -११, संगमटोल, उदयपुर, १ नम्बर प्रदेश
सिँदुर, पोते, फुर्का, चुरा, गाजल, नङ्पालिस, क्रिम, पाउडर लाएर घुमिरहे छ एउटा मान्छे बजारे बेहुली भएर ।
चर्चा परसम्म । केटाकेटीको रम्भोरु र तमासा आदिआदि ।
साहुजी… बजारे बेहुली ।
के…? वास्ताहीन पसले ।
टाउकोमा सिउँदो फारेर लगाको सिँदुर देखाउदै यस्तो लाउने आइमाईलाई देख्नु भो ?
भाग … भन्दै हकार्यो पसलेले ।
टाइट पैंट लगाउने ठिटीलाई, दोकाँधे भिरेको पोते देखाउदै सोध्यो यस्तो भिर्ने आइमाईलाई देख्यौ ?
केटी चुपचाप आफ्नै गन्तव्य तिर ।
पीपलको फेँदमा बसेर नानीलाई दुध ख्वाइरहेकी केटीको वक्षस्थल देखाउदै भन्यो ‘यस्तै नानीलाई दुध चुसाउने आइमाईलाई देख्नु भयो ?
रातो पीरो लाजले गाउँले ठिटी ।
कलेजबाट फर्केका विद्यार्थीलाई लिविस्टिक दलेको रातो, असुहाइलो ओँठ देखाउदै -यस्तै दल्ने भाउजूलाई देख्यौ ?
त्रियुगापुल पारी हाँस्दै जादै थिइन् । अलिक उल्लिने विद्यार्थीले भन्यो ।
ए हो …? भन्दै दगुर्यो उतै ।
उस्तै निराश , शून्य रातको सडक पेटी, कुनै पसलेको चिसो सटर, कुनै रुखको छाहारी मुनि बिताको पनि तीन वर्ष नाघ्यो । उस्लाई सहरले राम्ररी चिन्छ।
अर्काकै घृणा, जूठो, उब्रेको, बासी, कुहेको मानवतावादको संस्कारमा घिस्रीरहेको उसको मार्मिक कथा । उसको जीवनको उत्थान कहाँ हो कसैले सोधेका छैनन् ।कुनै बेला संस्थागत सहयोग फर्स्योट गर्न खोजीन्छ । खादा ओढाइन्छ, केही दिएको सेल्फी र तस्बिर लिइन्छ । फेसबुकमा प्रसार हुन्छ ।अनि हराउ छ उही बिहे गाराइ छोडेको भ्यागुतो भ्यागुती जस्तै ।
धेरैलाई सोधेँ ‘विदेशमा कमाको पैसा कुम्ल्याइ श्रीमती पोइलो हिँडे पछि ऊ बहुलाको अरे ।’
तर अपुष्ट ।
आज बिहान बास बसेको रुखको फेँद मै गएर सोधेँ-किन यस्तो गर्नु हुन्छ ?
उहाँले बिस्तारै भन्नु भो- पत्रकार भाइ पोहराहरूलाई बलात्कार गर्ने कौडे भालेको सुल्सुले हुँ ।अलिक वर आउनोस् त, भन्दै कानमा भन्नु भयो -‘अहिले दुइतिहाईको सरकार र पार्टी फोर्ने तत्वका सुराकी हुँ ।’
म तीनचीत उहाँको कुरो रसले ।
