
पूर्णपुष्टि, बैशाख १४ । दाङमा बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका वडा नं. १ सिउजाडाँडाकी ५७ वर्षीया केशरादेवी दमाइ रहेकी छिन् ।
केशरादेवी दमाइले ६४ वर्षीय श्रीमान रेशमबहादुर दमाइमाथि बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतम जानकारी दिए । उनका अनुसार बिहीबार बिहान ९ बजेतिर आपसी विवादका कारण श्रीमानमाथि बञ्चरोले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको र हत्या आरोपमा उनलाई पक्राउ गरिएको हो ।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी सहायक निरीक्षक सहदेव योगीको कमाण्डमा टोली खटिएको थियो । घटनाको कारण खुलिनसकेको कार्यालयले जनाएको छ ।
