Monday, April 20News That Matters

बढी कोरोना सङ्क्रमित भएका जिल्लामा आजदेखि जोर–बिजोर प्रणाली

पूर्णपुष्टि, साउन २२

कोरोना भाईरसको सङ्क्रमण बढ्दै गएपछि बढी प्रभावित जिल्लामा सरकारले आजदेखि सवारी साधनमा जोर–विजोर प्रणाली लागु गरेको छ । काठमाण्डौ उपत्यका र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा आजदेखि गाडीमा जोर–बिजोर प्रणाली लागू गरेको हो ।

आज जोर गते भएकाले जोर नम्बरका गाडी मात्रै चलाउन पाइनेछ । २ सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा राति ९ देखि बिहान ६ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ ।

अत्यावश्यक सेवा तथा ढुवानीका गाडीलाई भने जोर–बिजोर प्रणाली लागू हुने छैन । स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन तथा मास्क नलगाउनेलाई जरिवाना गर्न पनि गृहले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई विशेष निर्देशन दिएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने कम्पनीहरूलाई समेत कारबाही गर्न निर्देशन दिइएको छ । होटेलमा भोज हुन थालेपछि त्यसमा पनि कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ । भारतमा सङ्क्रमण बढेकाले सीमामा पनि अवैध आवातजावत रोक्न मन्त्रालयले निर्देशन दिएको छ ।

त्यस्तै सङ्क्रमण बढेका जिल्लामा निषेधाज्ञा जारी हुन थालेको छ । १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ ।

पर्सा, बारा, बाँके, सर्लाही, सप्तरी र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलामा संक्रमण देखिएका क्षेत्रमा मात्र निषेधाज्ञा छ ।