
पूर्णपुष्टि, चैत ५
बलात्कार गरेको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’ मा पारेर पक्राउ परेका छन् ।
होटलमा सँगै बसेको फोटो देखाएर ब्ल्याकमेलिङ गरी पटक पटक रकम लिएर ठगी गरेको आरोपमा अपराध महाशाखाको टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० घर भएकी ३७ वर्षकी लालसरी शाहीलाई पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनीविरुद्ध लालसरीले गत असोज ६ गते प्रहरीमा जबर्जस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन् । तर उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतले लालसरी शाहीलाई ३ वर्ष कैद र ६ महिना जेल सजायको फैसला गरेको प्रहरीले जनाएको छ ।
लालसरीसँगै प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० कै ३७ वर्षकी कल्पना शाहीलाई पनि पक्राउ गरेको छ ।
लालसरीले कामको सिलसिलामा चिनजान भएका काठमाडौं कोटेश्वरका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित होटलमा बसेका बेला आफ्नो सबै पैसा हराएकाले समस्यामा परेको भन्दै सहयोगका लागि बोलाएकी थिइन् ।
त्यस क्रममा पुरुषको हात समाउनेलगायतका काम गरी साथीलाई फोटो खिच्न लगाएको र पछि त्यही भिडियो देखाएर पैसा मागेको प्रहरीले जनाएको छ । ती पुरुषले पटक पटक गरी ३ लाख २ हजार ५ सय दिएको र थप ८ लाख मागेपछि प्रहरीमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
लालसरी र उनकी साथीले ब्ल्याकमेलिङ गर्ने हेतुले भिडियो बनाउने, रकम माग गर्ने, रकम पाउन छाडेपछि फेरि भिडियो सार्वजनिक गरिदिने धम्की दिने र बलात्कार आरोपसमेत लगाएर रकम असुल गरेको पाइएको प्रहरीले जनाएको छ ।
