
पूर्णपुष्टि, भदौ ८ गते ।
नेपाल प्रवेश गरेर महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले मोरङको जहदाबाट एक जना भारतीय नागरिकलाई मंगलबार साँझ पक्राउ गरेको छ । घरभित्र छिरेर जहदा गाउँपालिका–५ की २५ वर्षीया महिलालाई करणी गर्न खोजेको आरोपमा भारत अररिया घर भएका २३ वर्षीय मोहमद हजमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनका अनुसार महिला घरमा कोही पनि नभएको र एक्लै भएको मौकामा घरभित्रै पसेर हजमले बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफूमाथि बलात्कार प्रयास भएपछि महिलाले होहल्ला गरेकी थिइन् ।
परिवारले घटनाका बारेमा जानकारी दिएपछि पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हजमविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने तयारी गरेको छ ।
