
पूर्णपुष्टि, १५ फागुन ।
त्रियुगा नगरपालिका १३ मा रहेको बहेडुवा थारु होम स्टे पर्यटनलाई थप आकर्षण गर्न बयलगढी सफारीको व्यवस्था थप्ने भएको छ । थारु संस्कार संस्कृति संग जोडिएको बयगढी पछिल्लो समय लोपन्मुख अवस्थामा पुगेको छ । यसको संरक्षण प्रवद्र्धन र पर्यटनलाई आकर्षण गर्न उक्त सफारीलाई होम स्टेले आकर्षणको रुपमा ल्याउने भएको हो ।

होम स्टे संञ्चालक समितिका सल्लाहकार समेत रहेको उत्तिमलाल चौधरीले लोप हुँदै गएको बयलगढीलाई जिवित गर्न यसको सुभारम्भ गर्न लागेको जनाए । चौधरीका अनुसार यहि फागुन २५ माहाशिबरात्रीकै दिन बयलगढी (लहरु) सफारीको सुभारम्भ हुनेछ । सुभारम्भ पश्चात सफारीलाई निरन्तरता दिईने जनाईएको छ । उक्त सफारीलाई संरक्षण सँगै आर्थिक आम्दानीको रुपमा होम स्टेले संञ्चालन गर्ने भएको चौधरीको भनाई छ । सफारीबाट आम्दानी रकमलाई थारु सांस्कृतिमा आधारित सांस्कृतिक भवन निर्माणमा खर्च गरिने छ । होम स्टेको पैसाले मात्रै भवन निर्माण सम्भव नभएपछि बयलगढी सफारीलाई अघि बढाईएको व्यवस्थापक प्रभा चौधरीले बताईन् । थारु संस्कृतिक भवन अत्यावश्यक रहेको भन्दै तत्काल निर्माण तर्फ होम स्टे लागि परेको छ ।
