
पूर्णपुष्टि, जेष्ठ २९ । बाग्लुङमा जिल्ला अदालतले एक युवकलाई अप्राकृतिक मैथुन कसुरमा १२ बर्ष ६ महिना कैद सजाय सुनाएको छ । अदालतले आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई सो सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अप्राकृतिक मैथुन गरेको पुष्टि गर्दै युवकलाई कैदसँगै रु ४० हजार जरिवानासमेत भराउन आदेश दिएको अदालत इजालाश अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिए । निज रानाले २०७९ साउन २० गते अप्राकृतिक मैथुन गरेको अभियोगमा पीडित बालकका अभिभावकले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । उजुरी दिएको दिनै प्रहरीले युवकलाई पक्राउ गरी भदौ १३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
