Friday, June 26News That Matters

बाघको आक्रमणबाट भारतको जङ्गलमा नेपाली महिलाको मृत्यु

पूर्णपुष्टि, चैत १० । बाघको आक्रमणबाट भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएकी एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको पुनर्बास नगरपालिका–१० को भीमबस्तीकी ३२ वर्षीया कलसा सार्की रहेकी छिन् ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले शुक्रबार बिहान करिब ९ बजेतिर बाघको आक्रमणबाट महिलाको मृत्यु भएको बताएका छन् ।  दुधुवा नेशनल पार्कको नम्बर ८ कुवा एसएसबी क्याम्पको डेढ किलोमिटर भित्र जंगलमा महिलाको शव भेटिएको उनले बताए ।

सार्कीसँगै गएका भीमबस्तीकै ७ जना महिलाहरुले चिच्याएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शव भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझाउने तयारी गरेका प्रहरी निरीक्षक मल्ले बताए । उनको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरेपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।