
पूर्णपुष्टि, साउन ३२
बाजुरामा एक महिनादेखि विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिकाको दानसाँघुमा रहेको बड्डीगाड लघु जलविद्युत् एक महिनादेखि अवरुद्ध हुँदा करिब नौ सय घरपरिवार प्रभावित भएका हुन् ।
विद्युत्को नहर माथितिर सडक खनेकाले उक्त क्षेत्रमा पहिरो जान थालेपछि एक महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको हो । पहिरोले नहर भत्काउन थालेकाले विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् ।
लामो समयसम्म विद्युत् अवरोध भएपछि बजारमा सञ्चालन हुने विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका कामकाज ठप्प भएको छ ।
त्यस्तै कोल्टी बजारमा सञ्चालन भएका इलेक्ट्रोनिक पसलसम्म कामकाज गर्न असहज भएको व्यापारीले दुखेसो पोखेका छन् । अविरलको वर्षाले माथिबाट पहिरो आएर नहरलाई क्षति गरेपछि बजार तथा गाउँघरमा बत्ती बाल्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न नपाएको उपभोक्ताको गुनासो छ ।
नहर बनाउन कामदार लगाएर बनाएको विद्युत् चलाएको एक/दुई दिन नबित्दै सडकबाट पहिरो आएर नहर अवरुद्ध हुने गरेकाले पटक–पटक यसरी नहर बिग्रिने गरेको जनाईएको छ ।
