
पूर्णपुष्टि, असार २७
बाढी पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्धार कार्यमा समस्या भएको छ । निरन्तर पानी परिरहेकोले खोजी र उद्धार कार्यमा समस्या आएको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।
जाजरकोट र म्याग्दीमा हिजो नै हेलिकोप्टरमार्फत उद्धारको काम अघि बढाउने भनिए पनि मौसमले साथ नदिएकोले काम गर्न नसकिएको महाशाखाले जनाएको छ ।
प्रभावित क्षेत्रमा मान्छे हिँड्ने बाटो समेत पहिरोले बगाएको र जनशक्ति थप गरिए पनि जान समस्या भएको महाशाखाले जनाएको छ । अहिलेसम्म बाढी पहिरोमा परी २५ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् भने ३७ जना बेपत्ता भएका छन् ।
म्याग्दीमा मात्रै ३१ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा गत बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् । बाढी पहिरोका कारण विभिन्न ११ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ ।
