Sunday, June 28News That Matters

बिआरआईबारे चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलबीच छलफल

पूर्णपुष्टि, कात्तिक ५

चीनको बेल्ट एण्ड रोड (बिआरआई) को बारेमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार नेपालका राजनीतिक दलहरुसँग भर्जुअल अन्तरक्रिया गरेको छ ।
सहभागी नेताहरुले नेपाल बिआरआईप्रति पूर्णरुपमा प्रतिवद्ध रहेको र दुई देशको सम्बन्धलाई अझ कसिलो बनाउनुपर्ने बताएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको पहिलो बेल्ट एण्ड रोडसम्बन्धी राजनीतिक दलहरुको सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाउनुभएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलले सम्बोधन गरेका थिए । कार्यक्रममा शुभकामना सन्देश पठाउँनु हुदै राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माण लगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजिक ल्याउने र नेपालको सामाजिक, आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने बताउनुभएको थियो ।

नेपाललाई भूपरिवेष्ठितबाट विश्वका अन्य मुलुक र भूभागसँग बहुआयामिक माध्यमबाट सहज ढङ्गले जोडिएको आधुनिक र विकसित मुलुकका रूपमा रूपान्तरण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्पलाई साकार तुल्याउन व्यापक पूर्वाधार विकास र पर्याप्त आर्थिक लगानी एवम् प्राविधिक विकासको खाँचो भएको बताउनुभएको थियो ।

पूर्वाधार निमाण र सम्पर्क सञ्जालको विकास बेल्ट एण्ड रोड सहयोगको एक महत्वपूर्ण उद्देश्य भएकाले यसको प्रवर्द्धन गर्दै हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसंँगको साझेदारीलाई अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

दुई देशको बिचमा भएको सम्झौताको कार्यान्वयन गर्ने समय आएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । शान्तिपूर्ण सहअस्तित्व लगायत पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ । चीनले पनि नेपालको सार्वभौमसत्ता र सार्वभौमिकतामा सदैव सम्मान गरेको छ । चीनले अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिनाले चीन नेपालको विश्वासिलो र भरपर्दो साझेदार बनेको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराई, पूर्व परराष्ट्रमन्त्री एवं नेपाल काँग्रेसका नेता प्रकाशशरण महत लगायतकाले सम्बोधन गरेका थिए । नेपालका प्रमुख राजनीतिक दलका नेतालाई एकै ठाउँमा ल्याएर चिनियाँ कम्युनिष्ट पार्टीले पहिलोपटक यस खालको कार्यक्रम आयोजना गरेको हो ।