Sunday, June 28News That Matters

स्थानीय तहमा कर्मचारी अभाव

पूर्णपुष्टि, कात्तिक ५

स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ । सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको हो ।

सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६.५ प्रतिशत बजेट स्थानीय तहमा पठाएको छ । प्रतिस्थानीय तहमा सङ्घ र प्रदेश सरकारको वित्तीय हस्तान्तरणसँगै, विभिन्न मन्त्रालयका बजेट आफ्नै स्रोत र विकास साझेदारी निकायको संस्थाको समेत गरी एक अर्ब रुपियाँभन्दा बढी बजेट स्थानीय तहमा पुगेको छ ।

दुर्गम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव हुँदा नियमित सेवा प्रवाह र विकास निर्माणको काम ठप्प भएका छन् । कुल ४ सय ६० गाउँपालिकामध्ये अहिले २५ प्रतिशत गाउँपालिकामा प्रमुख प्रशासकीय अधिृकत विहीन भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ ।

कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीको रोजाइँ सङ्घीय कार्यालय हुँदा स्थानीय तहमा कर्मचारीको अभाव भएको हो । प्रदेश र स्थानीय तहमा समायोजन भएका कतिपय कर्मचारीले पनि विभिन्न बहानामा समायोजन संशोधन गरी पुनः सङ्घमा नै फर्केका छन् ।

स्थानीय तहमा खटाइएका कर्मचारी पनि अनुभवविहीन र भर्खर लोकसेवा उत्तीर्ण गरेका हुँदा काम गर्न कठिन भएको संघले जनाएको छ । प्रायः जसो अनुभवी र दक्ष अधिकृतलाई न्यून कार्यभार भएका मन्त्रालय र आयोगमा अनावश्यक दरबन्दी तयार पारी राजधानी र ठूला सहरमै बस्ने प्रवृत्ति देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत पद खाली नै हुने विषय होइन र खाली भइहाले पनि हामीले माग गरिरहनु पर्ने विषय नभएको संघले जनाएको छ ।