Friday, June 26News That Matters

बेपत्ता बालकको हत्या गरी गाडिएको अवस्थामा शव फेला

पूर्णपुष्टि, पौष १७

धनुषामा बालकलाई हत्या गरी गाडिएको पक्ता लागेको छ । शुक्रबार  बिदेह नगरपालिका(२ स्थित जीवन रायका अन्दाजी ५(६ वर्षीय छोरा अभिनन्दन रायको शव फेला परेको हो । बालकको शव हत्यापछि गाडिएको अवस्थामा फेला परेको हो ।

प्रहरीले घटनापछि पाँच जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । डिएसपी मिश्रका अनुसार मृतक परिवार र पक्राउ परेकाहरू आफन्ती  हुन् । अभिनन्दन राय घरमा आफ्नी आमासँग बस्दै आएका थिए ।

उनको शव घरभन्दा करिब ५ सय मिटर पर रहेको ब्रमदेव रायको गोठमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

अभिनन्दन राय बुधबार दिउँसोदेखि बेपत्ता भएका थिए । त्यसपछि दिउँसो ३ बजे प्रहरीलाई खबर भएको थियो।

खबरपछि प्रहरीले खोजतलास गरिरहेको थियो। बिहीबार राति ७(८ बजे बालकको परालले ढाकिएको अवस्थामा खुट्टा देखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

’त्यो खबर पाएपछि हाम्रो टोली खटियो। जुन बच्चा हराएको भनिएको थियो त्यसको ५ सय मिटर उत्तरपूर्व रहेको एक गोठमा बच्चाको खुट्टाका औंला देखिएको थियो,’ डिएसपी मिश्रले भने, ’खरानी, परालले ढाकछोप पारिएको थियो। हिजो नै सो घरबाट पाँच जनालाई नियन्त्रणमा लियौं ।’

प्रहरीले राति शव भने निकालेन । प्रहरी निरीक्षकसहितको टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो । शुक्रबार बिहानै प्रहरी उपरीक्षक सहितको टोलीले उक्त शव निकालेको थियो ।

शवको प्रकृति हेर्दा हत्या भएको डिएसपी मिश्रले बताए । शव हेर्दा घाँटीमा नङका खत छन् त्यस्तै सलले मुख बाँधिएको छ,’ उनले भने,’बच्चाले जिब्रो टोकेको छ ।’

शव निकालेर पोष्टमार्टमको लागि प्रहरीले प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।