
पूर्णपुष्टि, भदौ १ । उदयपुरको बेलका नगरपालिकाले लेबुचे हिमाल र आईल्याण्ड पिकको सफल आरोहण गरेका एक युवकलाई सम्मान गरेको छ । बेलका–७ का जलन राईले ६ हजार १ सय १९ मिटर लेबुचे र ६ हजार १ सय ८९ मिटरको पिक सफलतापूर्वक आरोहण गरेपछि उनलाई नगरपालिकाकी उप–प्रमुख जिरा राईले एक कार्यक्रमबीच शुक्रबार सम्मान गरेको हो ।
उप–प्रमुख राईले उनको साहसिक कदमको उच्च मुल्यांकन गर्दै नगरपालिकाले विशेष सम्मान गरेको बताईन् । आरोही राईको सफल आरोहणले केवल बेलका नगरपालिका मात्र नभई सम्पूर्ण उदयपुरको शिर उच्च भएको उनले बताईन् । उप–प्रमुख राईले सम्मान गर्दै आगामी दिनमा चोमोलुङ्माको पनि सफल आरोहण गर्ने प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेकी छन् । आरोही राई समाज सेवामा पनि उत्तिकै सक्रिय छन् । उनले विगतमा विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्दै आएका छन् ।
