
पूर्णपुष्टि, बैशाख ५ गते ।
बेलायतमा लकडाउनका लागी तीन हप्ता थप गरिएको छ । बेलायत सरकारले कोरोना भाइरस (कोभिड १९) थप फैलिन नदिनका लागी तीन हप्ता लकडाउन थप्ने घोषणा गरेको हो ।
कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आए, सङ्क्रमितको सङ्ख्या घटे र कोरोनाको सङ्क्रमण देशको लागि खतरा छैन भन्ने यकिन नभएसम्म लकडाउन थपिरहने विदेश मन्त्री डोमिनिक राबले बताए ।
बेलायतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण १३ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक लाख तीन हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाको सङ्क्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन् । प्रधानमन्त्री जोनसन भने कोरोना निको भएर आराम गरिरहेका छन् ।
