
पूर्णपुष्टि,जेष्ठ १० । उदयपुरको चौदण्डीगढी नगरपालिकामा अवस्थित नगर अस्पतालमा कार्यरत एक स्वास्थ्य कर्मीलाई सामाजिक संञ्जालमा अपमानजनक व्यवहार गरिएको भन्दै संलग्नलाई कारवाहीको माग गरिएको छ । अस्पतालका सिअहेवमाथि अपमानजनक व्यवहार गरिएको भन्दै विभिन्न ५ वटा संघ, संगठनहरुले संयुक्त विज्ञाप्ती जारी गर्दै आपत्ति जनाएको हो ।
विज्ञाप्तीमा राष्ट्रिय प्रगतीशील स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, राष्ट्रिय स्वास्थ्यकमी महासंघ कोशी प्रदेशले संयुक्त रुपमा हस्ताक्षर गरिएको छ । विज्ञाप्तीमा भनिएको छ ‘बिरामीको सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुप्रति सत्य तथ्य नबुझि सतही रुपमा अभिव्यक्त अस्वभाविक धम्किपूर्ण टिप्पणीले स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने कार्य गरेको’ भन्दै भत्र्सना गरेका छन्।
बिना अनुमति भिडियो खिच्ने, गाली बेइज्जती गर्ने र अपमानजनक व्यवहार गर्ने गरी त्यस्ता सामग्री सामाजिक सञ्जालमा पोष्ट गरिएको उनीहरुले बताएका छन् ।

