Sunday, June 21News That Matters

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ

पूर्णपुष्टि, साउन १४

बोक्सीको आरोप लगाएर महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पा नगरपालिका–४ लिबाङकी २६ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सुनिलस्मृति गाउँपालिका–६ गजुलका धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाले आफूमाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । गएको ६ गते उनीहरुले ती महिलालाई कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको अनुहारमा घाउ भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । पीडितको कोठामै गएर उनीहरुले कुटपिट गरेको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।