
पूर्णपुष्टि, साउन १४
एक महिलाको हत्या आरोपमा दुईजना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको आरोपमा त्रिवेणी गाउँपालिका–४ का १५ र ११ वर्षका दुई जना नाबालकलाई प्रहरीले पक्राउ गरेको हो ।
आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।
गएको सोमवार राति मनकलाको त्रिवेणी गाउँपालिका–३ मा मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैँसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म घर नफर्केपछि उनको खोजी भएको थियो । मनकलाको शव गोठबाट फर्कने बाटो भन्दा तीन कान्ला तल फेला परेको थियो ।
बुधवार तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले आज दुई जनालाई हत्यामा संलग्न भएको बताएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा नाबालकद्वयले धारिलो हतियार (खुर्पा) प्रहार गरी मनकलाको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।
उनीहरुले मनकलाको हत्या गरी मकै बारीमा फालेर मृतकको नाक, कानमा भएका सुनका गरगहनासमेत लिएको डीएसपी श्रेष्ठले बताउनुभयो । १५ वर्षीय बालकको घरबाट सुनको कानबाली २ थान, मुन्द्री २ थान, नाकको फुली १ थान र हँसिया (खुर्पा) १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस घटना सम्बन्धमा थाप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
