
पूर्णपुष्टि, चैत्र १६ गते । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी–९ का २३ बर्षीय बिनोद श्रेष्ठ, सुन्दरहरैचा नगरपालिका–६ मोरङका ३२ बर्षीय लक्ष्मी प्रसाद ढकाल र मेचीनगर–१० का २२ बर्षीय अशोक राजवंशी रहेका छन् ।
सुनसरीको ईटहरी उपमहानगरपालिका–४ मा रहेको एक चिया पसलबाट लागुऔषध ब्राउनसुगरको किनवेच भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले श्रेष्ठ र ढकाललाई बुधवार राती सवा ८ बजे पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ८ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१० बाट स्थानीय राजवंशीलाई १ ग्राम ब्राउनसुगर सहित बुधवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
