Sunday, April 19News That Matters

भरतपुरमा बढी किमो दिँदा बिरामीको मृत्यु, दुई नर्स निलम्बित

पूर्णपुष्टि, साउन २० । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक बिरामीलाई १० गुणा बढी किमोथेरापी दिँदा मृत्यु भएको घटना सार्वजनिक भएको छ। अस्पतालले गठन गरेको छानबिन समितिको प्रतिवेदन अनुसार यस घटनामा नर्सहरू र चिकित्सकहरूबाट गम्भीर त्रुटि भएको पाइएको छ।

घटनाको जानकारी सार्वजनिक भएपछि अस्पतालले दुईजना नर्सलाई निलम्बन गरेको छ, जसमध्ये एक जनाले राजीनामा दिइसकेकी छिन्। साथै, दुई जना चिकित्सकसहित २१ जनालाई स्पष्टीकरण सोधिएको छ।

लमजुङको दोर्दी गाउँपालिका–९ का ५४ वर्षीय भक्तराज गुरुङको १३ असारमा उपचारका क्रममा मृत्यु भएको थियो। गुरुङ छालाको क्यान्सरको उपचारका लागि अस्पतालमा भर्ना भएका थिए। छानबिन समितिका अनुसार चिकित्सकले ३.४ मिलिग्राम किमो दिन निर्देशन दिएकोमा नर्सहरूले ३४ मिलिग्राम चढाइदिएका थिए। यो मात्रा निर्धारित मात्राभन्दा १० गुणा बढी थियो।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले घटनामा मानवीय त्रुटि भएको स्वीकार गर्दै, यस्ता गम्भीर प्रकारका कमजोरी स्वीकार्य नहुने बताएका छन्। उनले भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्नेमा अस्पताल प्रतिबद्ध रहेको जनाएका छन्। मृतकका भाइ बालकुमार गुरुङले अस्पतालबाट कुनै क्षतिपूर्तिको माग नगरेको तर यस्ता घटना भविष्यमा नदोहोरियोस् भन्ने चाहना व्यक्त गरेका छन्।