Sunday, June 28News That Matters

भागरथी हत्याका आरोपी सार्वजनिक, ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतको अनुमती

पूर्णपुष्टि,फागुन ५

१७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भट्टको हत्यामा संलग्न रहेको अभियोगमा सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने १८ बर्षीय दिनेश भट्ट पक्राउ परेका हुन् । आरोपी दिनेशलाई प्रहरीले मंगलबार साँझ उनको घरबाटै नियन्त्रणमा लिएको थियो ।

भागरथी बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी दिनेशलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ । हत्या आरोपी दिनेशलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिनुभयो ।

आज दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा दिनेशलाई पक्राउ गरिएको सुवेदीले जानकारी दिनुभयो ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब १ सय मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।