Monday, June 29News That Matters

भारतबाट सलहको झुण्ड आउने सम्भावना बढ्यो

पूर्णपुष्टि,  असार २७

भारतबाट सलहको झुण्ड नेपाल आउने सम्भावना बढेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै केन्द्रले सतर्क रहन आग्रह गरेको छ ।

उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरेया आसपासमा करिब १ सय ५० हेक्टर जमिनमा फैलिएको सलहको २ वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले नेपालमा सतर्कता अपनाउन र पूर्वतयारी गर्न केन्द्रले अनुरोध गरेको हो ।

केन्द्रले जरुरी सूचना निकालेर ती झुण्ड १–२ दिनभित्रै धनुषा, सर्लाही तथा महोत्तरी आसपासबाट नेपाल प्रवेश गर्ने सम्भावना रहेको जनाएको छ । त्यस्तै राजस्थानको विभिन्न ठाउँमा रहेका विभिन्न झुण्ड पनि २–३ दिनभित्र प्रदेश ५ र सुदूरपश्चिम प्रदेश हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको केन्द्रले जनाएको छ ।

नेपालमा आगामी सोमबारसम्म पानी पर्ने सम्भावना रहेकोले सलह आइपुग्न केही अवरोध पर्ने देखिए पनि सलह नेपाल प्रवेश गर्ने सम्भावना धेरै रहेको भन्दै केन्द्रले नियमित निगरानी र सावधानी अपनाउन आग्रह गरेको छ ।