
पूर्णपुष्टि, बैशाख १८ गते ।
भारतबाट स्वदेश फर्केका नेपालीहरु एक महिनापछि आज बैतडीको सिमा नाका हुदै नेपाल आएका छन् । बैतडीको सीमा पारी रहेका नेपालीको बिहीबार विहानैदेखि उद्धार कार्य भइरहेको छ ।
सरकारले गत चैत्र १० गतेदेखि कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै नेपाल– भारत सीमा बन्द गर्ने निर्णय गरेपछि भारतीय क्षेत्रमा करिब २ हजार जना नेपाली रोकिएका थिए ।
अहिले भारतको पिथौरागड जिल्लामा करिब ८ सय नेपाली नेपाल आउने प्रतीक्षामा रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
गाउँ आएपछि उनीहरुले स्थानीय तहले बनाएको क्वारेन्टाइन स्थलमा बस्नुपर्ने छ । केही स्थानीय तहका जनप्रतिनिधिहरु नै सीमा क्षेत्रमा आफ्ना नागरिक लिन पुगेको जनाईएको छ ।
नगरबासीलाई लिन पुर्चाैडी नगरपालिकाले ५ वटा बस पठाएको छ । झुलाघाट सीमा पारी सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका साथै कर्णाली प्रदेशका पनि केही नागरिक स्वदेश फर्किने प्रतीक्षामा रहेका छन् ।
सिमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई जुन देशको भएपनि उनीहरु रहेकै देशको क्वारेन्टाईनमा राखने नेपाल र भारत सरकारले सहमति गरेको थियो । सोही सहमती अनुसार भारतीय क्वारेन्टाइनमा दुई हप्ता समय बिताएर नेपाली स्वदेश फर्किन थालेको जनाईएको छ ।
