
पूर्णपुष्टि, पुष २१
भारतमा लगेर दुई दिदि–बहिनीलाई बेचेको अभियोगमा प्रहरीले एक जना युवतीलाई नियन्त्रणमा लिएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा बस्ने बस्ने अनिशा नाम गरेकी फुलमाया तामाङलाई प्रहरीले नियन्त्रमा लिएको हो ।
पुष ९ मा उनलाई बुढानिलकण्ठ नगरपालिकास्थित कपनबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोले बताएको छ ।
२०७४ साउनमा काठमाडौंबाट दुई दिदी बहिनीलाई उनले नयाँ बसपार्कबाट गाडी चढाएर भारतमा लगेर बेचेको आरोप छ । पोखराको होटलमा जागिर लगाई दिने प्रलोभनमा पारी ११ र १३ वर्षीया दिदी बहिनीलाई काठमाडौंको आकाशेधारास्थित होटलमा चाउमिनमा बेहोस हुने औषधी खुवाएर तामाङले भारतमा लगेर बेचेको ब्यूरोले जनाएको छ ।

भारतको बम्बई, इलाहबाद, कलकत्ता र कुचबिहारका कोठीमा काम गरेपछि बहिनी भागेर दार्जिलिङको बाटो हुँदै नेपाल आउन लाग्दा भारतीय प्रहरीले फेला पारेका थिए । पीडितलाई २०७८ असोजमा दार्जिलिङमा भारतीय प्रहरीले भेटेर राजदूतावासमा खबर गरे । नयाँ दिल्लीस्थित नेपाली दूतावास र नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा उनी नेपाल आइपुगेकी हुन् ।
ब्यूरोका अनुसार बहिनी नेपाल आइपुगे पनि दिदी भारतमै रहेको छिन् । आरोपीलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ अनुसार अनुसन्धान भइरहेको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

