
पूर्णपुष्टि, फागुन २९ । नेपाली राष्ट्रिय टिमको कप्तान किरणकुमार लिम्बुले भारतमा सिजनकै उत्कृष्ट गोलकिपरको अर्वाड पाएका छन् । भारतको पञ्जाब एफसीलाई आइ–लिग जिताएका लिम्बुले उत्कुष्ट गोलकिपरको अर्वाड हात पारेका हुन् ।
एक साताअघि नै च्याम्पियन बनेको पञ्जाबले आइतवार पञ्चकुलास्थित ताउ देवी लाल रंगशालामा ट्राउ एफसीलाई २–० ले हराउँदै आई–लिग सिजनको अन्त्य गरेको थियो ।
पञ्जाब २२ खेलबाट १६ जित, ४ बराबरी र २ हारसहित ५२ अंक जोडेर उपाधि बिजेता बनेको हो । पञ्जाब सन् २०१२–१३ मा चर्चिल ब्रदर्सपछि ५० अंकको अंक पार गर्ने पहिलो च्याम्पियन टोली बनेको छ।
सो खेलसँगै भएको पुरस्कार वितरण कार्यक्रममा उनले २ लाख ५० हजार भारतीय रूपैयाँ र ट्रफी हात पारे । गत सिजन पनि किरणले पञ्जाबबाटै खेल्दै सिजनकै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए । पञ्जाबले उपाधि सहित १ करोड भारतिय रुपैयाँ पाएको छ भने इन्डियन सुपर लिगमा पनि बढुवा भएको छ ।
