Friday, May 22News That Matters

भिटामिन ‘ए’ कार्यक्रम असार २२ र २३ गते

पूर्णपुष्टि, असार १२

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी असार २२ र २३ गते संचालन हुने भएको छ । कोरोनाले गर्दा स्थगित भिटामिन ‘ए’ खुवाउने कार्यक्रम फेरि सञ्चालन हुने स्वास्थ्य सेवा विभागका पोषण शाखाले जनाएको छ ।

गतको वैशाख ६ र ७ गते तय गरिएको भिटामिन ए खुवाउने कार्यक्रम लकडाउनको कारण स्थगित गरिएको थियो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन थालिएको हो । हरेक वर्ष भिटामिन ‘ए’ खुवाउने कार्यक्रममा २७ लाख तीन हजार पाँच सय २२ बालबालिका सहभागी हुने गरेका छन् ।

बालबालिकालाई जुकाको औषधि र बालभिटासमेत खुवाउने गरिएको जनाएको छ । जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ९३ हजार १ सय ५२ बालबालिकालाई खुवाउने गरिन्छ । जुकाको औषधि २०५८ सालदेखि हरेक वर्ष दुई पटक खुवाउने गरिएको छ ।

यस्तै पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो । अहिले ४१ जिल्लाका बालबालिकालाई खुवाउने गरिन्छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई खुवाउने गर्छन् ।