Tuesday, May 12News That Matters

भुल्केका कोरोना संक्रमितको परिवारलाई क्वारेन्टाइनमा राखियो

पूर्णपुष्टि, वैशाख २९ ।

नेपालकै सबैभन्दा बढि कोरोना प्रभावित स्थान उदयपुरको भुल्केका संक्रमित परिवारका सदस्यहरुलाई आज क्वारेन्टाइनमा राखिएका छन् । भुल्केका संक्रमित चार परिवारका १४ जनालाई आज मोतिगडास्थित क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो । आज दिउसो एम्बुलेन्सबाट उनीहरुलाई क्वारेन्टाइनमा लगिएको थियो । घर हेरचाहका लागि एकजना भने घरमै होम क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमित भेटिएको स्थानका बासिन्दाको स्वाव पुनः परिक्षण गर्दा थप चारजना संक्रमित भेटिएपछि संक्रमित परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा राखिएको हो । परिवारका सदस्यहरु र उनीहरुबाट अरुमा संक्रमण फलिन नपाओस् भन्ने हेतुले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक अवधनारायण चौधरीले बताउनुभयो ।

सो क्वारेन्टाइनमा विराटनगर कोरोना हस्पिटलमा उपचारपछि कोरोना निको भई फर्केका पाँचजना पनि रहेका छन् । उनीहरु १४ दिन बसेपछि स्वाव परिक्षण गरिने र रिपोर्ट नेगेटिभ आएमा घर पठाइने बताइएको छ ।

त्रियुगा नगरपालिकाले व्यवथापन गरेको उक्त क्वारेन्टाइनमा बसेकाहरुलाई सरकारले तोकेको मापदण्ड अनुरुप खान, बस्न र अन्य व्यवस्थापनको कार्य भइरहेको चौधरीले बताउनुभयो ।

हाल भुल्केमा संक्रमितको संख्या ३२ पुगेको छ । जसमध्ये १४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पाँचजना मोतिगडा क्वारेन्टाइनमा रहेका छन् भने अन्यलाई विराटनगरस्थित एक क्वारेन्टाइनमा राखिएका छन् ।