
सप्तरी/बैशाख, २९
सप्तरीमा कोरोना संक्रमण फेला परेको १८ बर्षिय युवकलाई रिर्पोट नआइनै घर पठाएको खुलेको छ । १९ दिन सम्म क्वारेन्टाइनमा राखिएको उनलाई कुनै लक्षण देखा नपरेको भन्दै घर पठाइएको वडा अध्यक्ष प्रदिव शाहाले बताए ।
‘उनको स्वाब लिएर परीक्षणका लागि पठाएलगत्तै उनीसहितका युवालाई घर पठाइएको थियो’ अध्यक्ष साहले भने, ‘क्वारेन्टाइनमा १९ दिन भन्दा बढी राख्न नमिल्ने भएकाले घर पठाइएको थियो ।’
लकडाउनको समयमा वैशाख ९ गते डाक्नेश्वरी नगरपालिका – ३ तरहीस्थित घर पुगेका उनीसहित १३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । चितवनबाट आएका उनलाई १९ दिनसम्म क्वारेन्टाइनमा राखिएको र कोरोनासम्बन्धी लक्षण नदेखिएपछि घर पठाइएको खुलेको छ ।
वडा अध्यक्ष साहले पोजेटिभ आएको सूचना पाएलगत्तै उनको खोजी गर्दा उनी घरमा फेला नपरेका बताए । उनको खोजी कार्य पश्चात उनलाई पातो बजारमा हजुर आमासँग रहेको अवस्थामा फेला पारिएको वडा अध्यक्ष साहले बताए ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले पनि रिपोर्ट नआउँदै घर पठाइएको बताए । उनले रिपोर्ट नआएकै अवस्थामा घर पठाइएपछि कति जनासँग भेटघाट भयो भन्ने कुराको जानकारी लिने काम भइरहेको बताएको छ ।
उनीसहित उनका हजुरबुवा र हजुरआमा र आमा समेतलाई एम्बुलेन्समा राखेर गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाउने तयारी गरिएको छ ।
