Thursday, May 28News That Matters

भुल्केमा पुनः स्वाव नमुना संकलन हुने, केही थप स्थानीयको पनि हुने

पूर्णपुष्टि, वैशाख २३ । 

देशकै सबैभन्दा बढि कोरोना संक्रमित स्थान उदयपुरको भुल्केमा भोली (बुधबार) पुनः स्वाव नमुना संकलन हुदैछ । केहीको पुनः परिक्षणका लागि स्वाव संकलन र केही थप स्थानीयहरुको पनि स्वाव नमुना संकलन गरि परिक्षणलाई पठाइने जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । यसअघि वैशाख ६ देखि ८ गतेसम्म तीनदिनमा ३ सय ३७ जनाको स्वाव परिक्षण गरिएकाहरु मध्येबाट २८ जना संक्रमित फेला परेका थिए । त्यसपछि पनि संक्रमितको सम्पर्कको आधारमा र संकास्पदहरु दुईसय बढिको स्वाव नमुना संकलन गरी परिक्षण गरिदा रिपोर्ट नेगेटिभ आएको छ ।

पहिलो पटक परिक्षण गरिएकाको आज दुईहप्ता पुरा भएकाले पुनः परिक्षणका लागि स्वाव संकलन गरिने भएको हो । पहिलो परिक्षणमा कमि कमजोरी भएको हुनसक्ने कुरालाई मध्ये नगर गर्दै वा त्यसबेला संक्रमणको असर नदेखिएको हुनसक्ने कुरालाई मध्ये नजर गर्दै फेरी स्वाव परिक्षण गरिने जनाइएको हो ।

पहिलो परिक्षण गरिएका र स्थानीय नयाँ गरी ३ सय ५० को हाराहारीमा स्वाव नमुना संकलन गर्ने तयारी रहेको जनस्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो । भोली विहानैको समयदेखि नै स्वाव नमुना संकलन कार्य हुने उहाँले बताउनुभयो । जिल्लामै रहेको प्राविधिक स्वास्थ्यकर्मीटोलीले नमुना स्वाव संकलनको कार्य गर्ने भएको हो ।

संक्रमित क्षेत्र भुल्के गत वैशाख ५ गतेदेखि निरन्तर लक गरिएको छ । पुनः परिक्षणको रिपोर्टको आधारमा त्यस ठाउँमा संक्रमण नियन्त्रण भएको देखिए पछि मात्र गरिएको लक खुल्ला गरिने प्रशासनले जनाएको छ । हाल उक्त ठाउँमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेतको सहयोगमा सुरक्षा घेरा छ ।