Monday, June 29News That Matters

भ्रष्टाचारको आरोप लगाएर सरकारलाई अप्ठेरोमा पार्न खोजियो : प्रधानमन्त्री ओली

पूर्णपुष्टि, असार ४ गते । 

कोरोना रोकथाम तथा नियन्त्रणमा भ्रष्टाचार भयो भनेर हुदै नभाको आराप लगाएर सरकारलाई अप्ठेरोमा पार्ने काम भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।

राष्ट्रिय सभामा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई आक्रमण गर्ने उद्देश्यले नै हुँदै नभएका विषयमा हल्ला चलाइएको दाबी गर्नुभयो । उहाँले कारोना महामारीको अप्ठेरो अवस्थामा काम गरिरहेका निकाय र व्यक्तिको प्रशंसा गर्नुको साटो भ्रष्टाचारको आरोप लगाएर निरुत्साहित पार्न खोजिएको बताउनुभयो ।

देशमा भ्रष्टबाहेक कोही जन्मिँदै जन्मिन्नन् र पदमा पुगेका सबै भ्रष्ट छन् भन्ने नियत त्याग्न उहाँले आग्रह गर्नुभयो ।  कोरोना नियन्त्रणमा भएको १० अर्ब रुपैयाँको मोटामोटी खर्च सार्वजनिक भएको र सानो खर्च पछि सम्बन्धित निकायले सार्वजनिक गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

कोरोनासँग लड्ने बेलामा केही व्यक्ति र संस्थाले हिसाब खोज्दै बसेकोमा आश्चर्य व्यक्त गर्दै प्रधानमन्त्रीले एकरएक पैसाको हिसाब किताब हुने बताउनुभयो । कोरोना नियन्त्रणको नाममा कतै अनियमितता भएको भेटिएमा नछाड्ने उहाँले चेतावनी दिनुभयो ।

महामारीलाई अवसरको रुपमा लिन खोज्नेहरुलाई सरकारले नछाड्ने प्रधानमन्त्रीको दाबी छ । सडकमा भइरहेको आन्दोलनलाई प्रधानमन्त्रीले औचित्यविहीन आन्दोलनको संज्ञा दिनुभएको छ ।