
पूर्णपुष्टि, असोज १२ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा रहेको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण लिइरहेका ६ बालक बाढीमा बेपत्ता भएका छन्। शनिबार बिहान कुलेखानी जलाशय खोलिएपछि आएको बाढीले विद्यालय नजिकैको खोलामा पानीको सतह बढेको थियो ।
विद्यालयका अध्यक्ष तथा एकेडेमीका संयोजक सुभाषचन्द्र ठकुरीका अनुसार, बालकहरूलाई सुरक्षित स्थानमा सार्ने क्रममा माथिबाट आएको लेदोसहितको पहिरोले ६ जना बेपत्ता भएका हुन् । एन्फाद्वारा सञ्चालित उक्त एकेडेमीमा कुल ४० जना बालक थिए, जसमध्ये ३४ जना सुरक्षित रहेका छन् । मकवानपुरका एसपी सीताराम रिजालले घटनाको पुष्टि गर्दै बाढी पहिरोका कारण प्रहरी टोली घटनास्थल पुग्न नसकेको जानकारी दिए । उद्धार कार्य र थप विवरण संकलन गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
