Friday, May 1News That Matters

मनसुनी वर्षाको प्रभाव: देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पूर्णपुष्टि, असार २२ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार देशैभर साधारणदेखि पूर्णतया बदली रहने अनुमान गरिएको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि पूर्वानुमान गरिएको छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम बढ्न सक्ने भएकोले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। यस्तो मौसमी अवस्थाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने जनाइएको छ। मनसुनको न्यून चापीय रेखा हाल पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाले जनाएको छ।