Tuesday, April 21News That Matters

मनसुन अझै दुई हप्ता लम्बिने, दशैंसम्म वर्षाको सम्भावना

पूर्णपुष्टि, असोज १६ । यस वर्षको मनसुन सरदर समयभन्दा लामो अवधि रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया अक्टुबर २ मा बाहिरिने मनसुन यस वर्ष अक्टुबरको दोस्रो हप्तासम्म रहने देखिएको हो ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशका विभिन्न भागबाट क्रमशः मनसुन बाहिरिने क्रम सुरु हुनेछ । सुदूरपश्चिमका जिल्लाहरूबाट शनिबारदेखि नै मनसुन बाहिरिन थाल्ने अनुमान गरिएको छ । तर कोशी प्रदेशमा भने दशैंको टीका (अक्टुबर १२) सम्म मनसुनी प्रभाव कायमै रहने सम्भावना छ ।

मौसमका अध्येता डा. धर्मराज उप्रेतीले कोशी प्रदेशमा ‘हिले दशैं’ हुनसक्ने बताए । तर उनका अनुसार अघिल्ला दिनहरूको जस्तो भारी वर्षा भने नहुने अनुमान छ ।

नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालिएको सन् १९६८ यताकै रेकर्ड हेर्दा सबैभन्दा ढिलो मनसुन बाहिरिएको वर्ष २०१३ हो, जब अक्टुबर १९ मा मनसुन बाहिरिएको थियो । यस वर्ष मनसुन जुन १० मा भित्रिएको थियो, जुन सरदर मिति जुन १३ भन्दा तीन दिन अगाडि हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष असोज दोस्रो सातासम्म सरदरभन्दा बढी वर्षा भइसकेको छ । मौसमविद्हरूले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण नेपालमा मनसुनको अवधि लम्बिने र वर्षाको मात्रा अस्वाभाविक हुने क्रम बढेको बताएका छन् । मौसमविद् गोविन्द झाले मनसुनको गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको र आवश्यक अद्यावधिक गर्दै जाने बताए ।