Wednesday, June 10News That Matters

मर्दी र माछापुच्छ्रे पदयात्राका लागी पीसीआर रिपोर्ट नेगेटिभ अनिवार्य

पूर्णपुष्टि, कात्तिक १९

कास्कीको मार्दी र माछापुच्छे पद मार्गमा यात्रा गर्न पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।
दशैँ सकिए लगतै पद मार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको हो ।

चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीहरुले जोखिम रोक्न कात्तिक २१ देखि पदयात्रामा आउनेहरुले पिसीआर नेगेटिभ रिपोर्ट ल्याउनुपर्ने निर्णय गरेको हो ।

माछापुुच्छ्रे गाउँपालिका–७, ८ र ९ का वडाध्यक्षहरु, पर्यटन व्यवस्थापन समिति अष्ट्रेलियन क्याम्प, मर्दी ट्रेक पर्यटन व्यवस्थापन समिति, माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिलगायत सरोकार भएकाहरुको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्ने र जोखिम न्यूनीकरण गर्ने निर्णय गरिएको माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिले जनाएको छ ।
अन्यत्रका पदयात्रा बन्द भएपछि दशैँपछि मर्दी र माछापुच्छ्रेमा पदयात्री उल्लेख्य बढेका छन् । सङ्क्रमण बढी भएका जिल्लाबाट समेत मानिसहरु आएपछि जोखिम कम गर्न पिसीआर रिपोर्ट अनिवार्य गरेको समितिले जनाएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदयात्रा त्यहाँका व्यवसायीले बन्द गरेपछि मर्दी र माछापुच्छ्रेमा आन्तरिक पर्यटक बढेको जनाईएको छ ।

मर्दी पदयात्रामा धम्पुस, घलेल, सिदिङ, कालिमाटीलगायतका बस्तीहरु पर्दछ । विभिन्न स्थानमा रहेका पर्यटन व्यवसायी समितिसँगै भिँडाबारी र धम्पुस प्रहरी चौकीका सुरक्षाकर्मीलाई समेत पदयात्रीको निगरानीमा परिचालन गर्ने योजना बनाइएको पालिकाले जनाएको छ ।

मर्दी हिमाल पदयात्रा पछिल्ला वर्षहरुमा पर्यटकको गन्तव्य बनेको छ । मर्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गको रूपमा विकास गरिएको छ ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालिमाटी तथा सिदिङ तथा माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प,  बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार पाँच सय मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ ।

माछापुच्छ्रे नमूना पैदलमार्ग माछापुच्छ्रे गाउँपालिका–९ को सिदिङबाट शुरु हुन्छ । सिदिङसहित रिभान, लाहाचोक, घाचोक तथा साविक माछापुच्छ्रे गाविसबाट समेत यस पदयात्रा गर्न सकिन्छ ।