Saturday, May 16News That Matters

मलेसियाबाट ७ हजार ३ सय १४ जना फर्कने

पूर्णपुष्टि, असार १०

मलेसियाबाट ७ हजार ३ सय ४१ जनाले घर फर्कन आफ्नो विवरण टिपाएको त्यहा रहेको नेपाली दुताबासले जनाएको छ ।

भिसाको अवधि सकिएका, कामबिहीन भएका, कोरोनाबाट प्रभावित, गर्भवती, बिरामी लगायत सरकारले तोकेको प्राथमिकतामा पर्ने ७ हजार ३४१ जनाको सूची दूतावासले सार्वजनिक गरेको हो ।

मलेसियाबाट २ उडानमार्फत त्यहाँ समस्यामा परेका केही नेपाली फर्किएका छन् । मलेसियामा पहिले दूतावासमा आफ्नो विवरण टिपाउनेलाई पनि दूतावासले फेरि विवरण भर्न लगाएको थियो ।

दूतावासले सार्वजनिक गरेको तथ्याँक अनुसार अधिकांश श्रम र भिसा सकिएर स्वदेश फर्कन खोज्नेहरु रहेका छन् ।

मलेसियाबाट फर्कनेलाई मलेसियाको अध्यागमन कार्यालयले चेकआउट मेमो वा बिदाको पत्र मध्ये एक खोज्ने गरेको दूतावासले जनाएको छ । रोजगारी भिसामा मलेसिया गएका तथा भिसाको अवधि सकिएकाहरुलाई स्वदेश फर्किन चेक आउट मेमो आवश्यक पर्दछ ।

चेक आउट मेमो पहिले नै बनाएको र त्यसको म्याद सकिएको भएपनि स्वदेश फर्किन बाधा नपर्ने दूतावासले जनाएको छ ।

भिसाको अवधि धेरै बाँकी रहेको तर स्वदेश फर्किनेहरुले भनें कम्पनीबाट विदाको पत्र बनाएर मात्र स्वदेश फर्किने प्रकृया गर्न दूतावासले सुझाव दिएको छ ।

नेपाल फर्किनेहरुले आफू फर्किने जहाज चढ्न तथा नेपाल प्रवेश गर्न नेपाल पुग्ने दिनको सात दिन भित्रको कोभिड १९ परीक्षणको रिपोर्ट साथमा राख्न पनि दूतावासले जनाएको छ ।