Tuesday, July 7News That Matters

महिलालाई आत्मनिर्भर बनाउन तीन महिने “ढाका बुनाई तालिम”

पुर्णपुष्टि, माघ २ गते ।
आर्थिकरुपले महिलाहरुलाई आत्मनिर्भर बनाउन तीन महिने ढाका बुनाई तालिम संचालन गरिएको छ । ओरेक नेपाल उदयपुर र त्रियुगा नगरपालिकाको साझेदारिमा महिलालाई सिपसँगै आर्थिक रुपमा बलियो बनाउने उदेश्यले तालिम आयोजना गरिएको हो ।

ओरेकको सभाहलमा आयोजित तालिममा नगर क्षेत्रका दश जना महिलाहरुले सहभागिता जनाएका छन् । सहभागि सबैलाई ढाका सम्बन्धि सबै सामग्री बनाउन उद्यमीको रुपमा विकास गर्न कुमारी मगर र दया दनुवारले सहजिकरण गरेका छन् ।

तालिमको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले महिलाको सिपलाई उद्योग व्यवसायसँग जोड्ने गरी नगरपालिकाले योजना अघि सारेको बताए । उनले उत्पादित सामग्रीलाई वजारिकरण गर्न नगरपालिका तयार रहेको जनाए । विगतमा हामिले प्रयोग गर्ने गुन्द्री, मकैको खोस्टाबाट बनेका पिर्काहरु बिस्थापित हुँदै गएकाले संरक्षण गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने राईले बताईन् ।

ओरेक नेपालका अध्यक्ष डा. रेणु अधिकारीले महिलालाई सिप र आर्थिकरुपले मजवुद बनाउन सकेमात्र महिला नेतृत्व स्थापित हुने बताईन् । उनले भनिन्, ‘महिलालाई हरेक क्षेत्रमा अघि बढाउन सिप र आर्थिक अबश्था मजवुद बनाउन जरुरी छ, यसले जीविकोपार्जन मात्र हैन् राष्ट्रको सवल महिला नेतृत्व निर्माण गर्न सक्छ । उनले स्थानीय महिलाले उत्पादन गरेको सामग्री बिक्रीवितरणका लागि ओरेकले आफै बिक्री केन्द्र राख्ने बताईन् ।

उक्त तालिम उपमेयर राई, ओरेकका अध्यक्ष अधिकारी, त्रियुगा नगरपालिका ८ का वडाअध्यक्ष राजकुमार राउत, ९ का वडासदस्य मिरा विश्वकर्मा, ओरेकका सचिव सविता पोखरेल, निर्वतमान अध्यक्ष रामवती चौधरीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।