Tuesday, July 7News That Matters

विमान दुर्घटनामा ज्यान गुमाउनेलाई बीमा कम्पनीमार्फत कति रकम पाउँछ ?

पूर्णपुष्टि,माघ २ । पोखरामा आइतवार भएको विमान दुर्घटनामा परेर ७२ जनाले ज्यान गुमाएको छ । यति एयरलाइन्सको एटीआर–७२ विमानमा ६८ जना यात्रुसहित ४ जना क्याबिन क्रुले समेत ज्यान गुमाएको हो ।

यति एयरलाइन्सले बिमान दुर्घटनामा ज्यान गुमाउने यात्रु, परिचारिका र पाइलटको बीमा बापतको दावी भुक्तानी प्रक्रिया अघि बढेको छ । यति एयरलाइन्सले हिमालयन एभरेस्ट इन्सूरेन्समा बीमा गरेको थियो । कम्पनीले दुर्घटनामा परेको विमान हिमालयन एभरेस्ट इन्सूरेन्समा बीमा गरेको कम्पनीका प्रबन्ध कार्यकारी प्रमुख कमल गौतमले जानकारी दिएका छन् । गौतमले एयरलाइन्स कम्पनीहरूले आफ्ना एयरक्राफ्टको बीमा गरेको हुने र सोही बीमाले यात्रु समेत कभर गर्ने जानकारी दिए ।

गौतमका अनुसार विमान दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको बीमा प्रतिव्यक्ती २० हजार अमेरिकी डलर हुन्छ । यसअनुसार दुर्घटनामा ज्यान गुमाउने यात्रुका आफन्तले प्रतियात्रु २० हजार डलर पाउने बताएको छ । यता विमान परिचालिकाले ४० हजार अमेरिकी डलर र पाइलटले १ लाख डलर पाउने गौतमले बताए ।

बीमा कम्पनीहरूले बीमा गरेपछि अन्तर्राष्ट्रिय रि–इन्स्योरेन्स कम्पनीहरुमा जोखिमको बीमा गराउँछन् । सोहीअनुसार दुर्घटना लगत्तै सिंगापुरबाट सर्भेयर आउने र सर्भेयरको प्रतिवेदनअनुसार के–कति भुक्तानी गर्ने विषय खुल्ने बीमा कम्पनीको भनाइ छ ।