
मित्रा कटवाल, रौतामाई गाउँपालिका–५, उदयपुर
माया र दयाकी खानी सौन्दर्यकी रानी
सहनशिलताकी प्रतिमूर्ति शब्दहरुको भालाले मुटु छियाछिया पारेदिए पनि
व्यथाहरु लुकाएर मुस्कान छर्छिन् पहिला
दुःख र पिडा सहदै जिउने अदभुत कलाकार हुन् महिला
यिनलाई सृष्टिको अमूल्य गहना भनी लिईन्छ यहाँ
तरपनि किन मानसिक, शारीरिक साथै थुप्रै अन्य पिडा दिईन्छ यहाँ
हे नारी तिमी माथिको हिंसा न्यूनिकरण गर्न हरेक कानुन लेखिन्छ यहाँ
तर के गर्नु तिमी माथि दिनदिनै अमानविय, अनैतिक एवम् अबैधानिक देखिन्छ यहाँ
बलत्कार दाईजो र बोक्सीको नामले हुने हिंसा विरलै पाईन्छ आज पनि
नविर्स जन्मदिने आमा नारी हुन् , भाईटिकामा पुज्ने दिदीबहिनी हुन्
तर के गर्नु ? अपराधीहरुलाई यो सव गर्न लागेन कति नी लाज पनि
मनको रोदन र पिडाले सिरानी भिजाउदै काट्ने गर्छ हरेक साझ पनि
यो दर्दनाक महिला हिंसा देखेर पनि चुपचाप नै रहेको पाईन्छ यहाँ
खै म के भनौं यी सब हिंसाबाट बचाउन फासिकै सजाय चाईन्छ यहाँ
छोरा जन्माउदा खुसीले रमाउदै सयौं बेलुन फुट्छन्
आफै घरभित्रको मानवता भुलेर चेलीको ईज्जत लुट्छन्
दाईजो नल्याएको भनि मरासन्न हुने गरि कु्ट्छन्
जेल नै परे पनि ती अपराधी एक महिना मै छुट्छन्
थाहा छैन रजस्वला हुदाँ गोठमा रात काट्छन् ।
विवस चेलीले भोलीको सूर्य देख्न पाउछिन कि पाउदिनन
जंगलमा घाँस दाउरा खोज्न गएकी सुन्तली दिदी
शुरक्षित घर आउन पाउछिन कि पाउदिनन् ?
पाईने छैन जोतेर बारी, कहाँ बाट ल्याउछौ सिता जस्ता नारी
छोरी हुँदा गर्वमै फाल्नेहरुलाई मेरो एउटा प्रश्न भन कहाँबाट ल्याउछौ तिम्रो बुहारी ?
पुरुष प्रदान समाज युगौदेखी सती प्रथा, देउकी प्रथा आदिको नाममा चोट दिई तिमीलाई जलाईयो ।
अहिले भए पनि धेरै अधिकारको कुरा दाईजो नल्याएको निउमा तिम्रो शरीर जलाईयो ।
श्रिमान्को निधन भए जिन्दगीभर तिमीले सेतो लुगा लगाउनुपर्छ
तर श्रीमतीको निधन भए त्यही पुरुष अर्को विहे गर्छ
खै के भनौ तिमि माथिको हिंसा देखेर मेरो आखाभरी आशु भरिन्छ ।
डिजिटल प्रविधिबाट हेरेर छोरी भएको थाहा पाए त्यही दिन तिम्रो भु्रण हत्या गरिन्छ ।
यो संसारमा आउनु पुर्व देखिने गरिन्छ, यि यावत हेला
छोरा जन्मदा खुसी तर किन शिर न्युउराईन्छ छोरी जन्मेको बेला
तिमीले आधा काम गरिसक्दा गाउँका भाले बास्छन्
पढि लेखी के गर्ने घर कै काममा अल्झाईदिए
यही देखेर दुनियाँ मै माथि हाँस्छन् ।
(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत रौतामाई गाउँपालिका– ५ मा भएकोे वडा स्तरीय कविता प्रतियोगिताको उत्कृष्ट कविता)
