Tuesday, July 7News That Matters

मावि भोर्लेमा भयो उदाहरणीय काम, वडाध्यक्ष राईद्वारा उद्घाटन, सहयोगीहरुलाई सम्मान

पूर्णपुष्टि, माघ ४ । सुकौरा
उदयपुरको त्रियुुगा नगरपालिका १६ स्थित श्री माध्यामिक विद्यालय भोर्लेमा आज करिब एकसय जना सम्मानित भएका छन् । जनप्रतिनिधि, अभिभावक, शिक्षकदेखि पूर्वविद्यार्थीहरु राम्रो कामका कारण सम्मानित भएका हुन् । उनीहरुले विद्यालयलाई राम्रो बनाउन आ–आफ्नै गक्ष, सिप र क्षमताको आधारमा योगदान गरेकाले विद्यालयले सम्मान गरेको हो । सहयोग गर्नेहरुमा सो विद्यालयका अभिभावक, शिक्षक मात्र नभई विभिन्न क्षेत्रका ब्यक्तित्व र अन्य विद्यालयका शिक्षक, प्रधानाध्यापक र समाजसेवीहरुसमेत हुन् । विद्यालयले सहयाेगीहरुकाे उच्चसम्मान गर्दै सिलालेख र तस्विरमासमेत सजाएर राखेकाे छ । 
उनीहरुको सहयोगबाट संकलित ५ लाख ५६ हजार ४७५ रुपैया र विद्यालयको आन्तरिक कोष १ लाख ३९ हजार गरी कुल ६ लाख ९५ हजार, ४७५ रुपैयामा विद्यालयको गेट, मञ्च र विद्यालय घेराबेरा निर्माण भएको छ । गेट आकर्षक निर्माण भएको छ । कार्यक्रमहरु ब्यवस्थितरुपले गर्न मिल्ने मञ्च निर्माण भएको छ । घेराबेराले विद्यालय सुरक्षित बनेको छ । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष मानबहादुर राईले रिवन काटेर गेट र मञ्चको उद्घाटन गरे ।
“सहकार्यबाट सम्भाव छ भन्ने” नारासहित विद्यालयले भौतिक संरचना निर्माणमा सहयोगको आव्हान गरेको थियो । उनीहरुले पाँचसयदेखि २० हजारसम्म सहयोग गरेका थिए ।
वडाध्यक्ष मानबहादुर राईले सबैको खुलेर प्रशंसा गरे । उदाहरणीय काम गरेको भन्दै विद्यालय र सहयोगदाताहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरे । अध्यक्ष राई सोही विद्यालयका पूर्व प्रधानाध्यापकसमेत हुन् । विद्यालयको स्तरोन्नती तथा शैक्षिक सुधारमा विशेष योगदान रहेको भन्दै अभिभावकहरुलेसमेत उनलाई सम्मान गरे । अध्यक्ष राईले विद्यालयको समग्र शैक्षिक गुणस्तर तथा भौतिक विकास, खेलकुद तथा अन्य सिर्जनात्मक क्रियाकलापका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
जिल्ला समन्वय समिति उदयपुरकी सदस्य गोमा कार्कीले विद्यालय र अभिभावकहरुले अनुकरणीय काम भएको बताइन् । वडाका सबै विद्यालयहरुलाई यस्तै नमुना बनाउने भुमिकामा जनप्रतिनिधिहरु रहेको उनले बताइन् । कार्यक्रमका अतिथीहरुले बोल्दै विद्यालयले नमुना कामहरु गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर रखाल मगरको अध्यक्षता रहेको कार्यक्रममा प्रधानाध्यापक विपनचन्द्र राईले भौतिक पूर्वाधार निर्माणको आयब्याय प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालक शिक्षक चुडामणी राईले गरेका थिए ।
सो विद्यालयले बालमैत्री शिक्षा, गुणस्तरीय शिक्षा, अङ्ग्रेजी माध्यमको पठनपाठन, प्रविधिमैत्री शिक्षण गर्दै आएको छ । त्यहाँका सबै शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिका सोही विद्यालयमा पढाउछन् ।
२०३८ सालमा स्थापना भएको सो विद्यालयमा १० कक्षासम्म पढाई हुुन्छ । २ सय ३३ जना विद्यार्थी र २० शिक्षक/शिक्षिका रहेका छन् ।
फोटो फिचर