पूर्णपुष्टि, माघ ४ । २५औँ राष्ट्रिय भुकम्प दिवसको अवसरमा विपत्ती हुनसक्ने धनजनको क्षति न्युनिकरण गर्न उदयपुरको गाईघाटमा नमुना अभ्यास प्रर्दशनी गरिएको छ । बुधवार जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भुकम्पबाट कसरी जोगिने, कसरी उद्धार र उपचार सेवालाई प्रभावकारी बनाउने लगायतका बिषयमा नमुना अभ्यास प्रर्दशनी गरिएको हो ।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार भन्ने मुलनाराका साथ जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, पशुपति प्रसाद गण बोक्से, हुरेण्डेक, जाल्पा एकिकृत विकास समाज, वल्र्डभिजन इन्टरनेशनल नेपाल र नेपाल रेडक्रस सोसाईटीको सहआयोजना र सशस्त्र प्रहरी वल, नेपाल ५ नम्बर गण हेडक्वाटर उदयपुरको संयोजनमा अभ्यास कार्यक्रम गरेको हो । भुकम्पको उच्च जोखिममा रहेको उदयपुरलाई जोगाउन जनशक्ति तयारी र अन्य प्रतिकार्य योजना बनाउन नगरपालिका तयार रहेको त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले बताए । नगर प्रमुख बस्नेतले यस्ता खाल्का विपद्हरु मानवीय जिवनमा पुर्वजानकारी गराए आउने विषय नभएकाले मुलुकका सबै सचेत नागरिकहरु तयारी अवश्थामा रहनु पर्नेमा जोड दिए ।

भुकम्पबाट हुने क्षति न्युनिकरण गर्न भुकम्प प्रतिरोधात्मक घर निर्माण र विपद्को सामना गर्ने गरी त्यहीँ किसिमका प्रतिकार्य योजना निर्माण गरिनु पर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष जनार्दन गौतमले बताए । ‘मानविय र भौतिक संरचनाको क्षति कम गर्न वलियो घर निर्माण गर्नु पर्ने, विपद तत्काल उद्धारकार्यलाई तदारुकता दिन सके मात्र क्षति न्युनिकरण गर्न सकिने अध्यक्ष गौतमले बताए

गाईघाटको त्रियुगा नमुना माध्यमिक बिद्यालयको खेलमैदानमा सशस्त्र प्रहरी वल, नेपाल ५ नम्बर हेडक्वाटरको विपद् उद्धार कार्य समुहले भुकम्पमा चार तलामाथि चेपिएका स्थानीयलाई कसरी उद्धार गर्ने भन्ने विषयमा नमुना अध्यास प्रर्दशनी गरेका थिए । चार तलामाथि चेपिएर घाईते भएकाहरुलाई उद्धार टोलीले डोरी लगायतका विभिन्न उपकरणको प्रयोग गरी उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल पठाएको घटनाको दृष्य देखाएका थिए । अभ्यासका क्रममा विपद्को घडिमा उद्धारका लागि कसरी तयारी गर्ने, कुन–कुन निकाय तत्काल परिचालन हुने र त्यसको सामना कसरी गर्ने भन्ने बिषयमा देखाइएको थियो ।



