Thursday, May 7News That Matters

मुर्कुचीमा यसरी मनोपरामर्श सेवा सुरु

पूर्णपुष्टि, वैशाख २६ ।

उदयपुरको रौतामाई गाउँपालिकाको क्यावरेन्टाइनहरुमा मनो परामर्श सेवा सुरु भएको छ । पालिकाले मनोपरामर्शदाताको व्यवस्था गरी नियमितरुपमा मनोपरामर्श सेवाको व्यवस्था गरिएको रौतामाई गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो ।

पालिकाको मुर्कुची, भुटार र आँपटार गरी तीनस्थानमा सरकारले तोकेका मापदण्ड अनुरुप क्वारेन्टाइन निर्माण छन् । जसमध्ये पालिकाको वडा न.ंं ७ मुर्कुचीको जनता माध्यामिक विद्यालयस्थित क्वारेन्टाइनमा हाल ३४ जना मानिस बसेका छन् । उनीहरुलाई मापदण्ड अनुसारकै दुई छाक खाना, दुईपटक नास्ता, नियमित स्वास्थ्य चेकजाँचसहित क्वारेन्टाइनमा बस्दा मनोबैज्ञानिकरुपमा समस्या नआवोस् भन्ने हेतुले मनोपरामर्श सेवा दिइदैछ । रौतामाईमा परामर्श सेवाका लागि ओरेक नेपाल, राजाबासले सहयोग गरेको छ ।

क्वारेन्टाइनमा बसेकाहरुलाई परामर्शको रुपमा क्वारेन्टाइनलाई सकारात्मकरुपमा बुझ्न र अनुशासित भई बस्ने प्रेरणा दिइने गरिएको छ । सिंगो देश नै कोरोनासंग लडिरहेको अवस्थामा रोगबाट आफु बच्न र संक्रमण फैलन नदिइ देशलाई योगदान गर्नु हो भन्ने भावना प्रेरित गर्ने गरिएको मनोविमर्शकर्ता सुजाता मगरले बताउनुभयो ।

गएको १९ गते मुर्कुची राजाबासस्थित रौता क्याम्पसको क्वारेन्टाइनमा काठमाडौंदेखि आएर श्रीमतीसंगै बसेका स्थानीय एक युवाले राती झुण्डिएर आत्महत्या गरेका थिए । उनको आत्महत्याको कारण खुल्न नसके पनि क्वारेन्टाइनमा मनोपरामर्शको खाँचो देखिएको थियो । त्यसपछि रौतामाई मात्र नभई जिल्लाभरकै क्वारेन्टाइनहरुमा मनोविमर्श सेवा दिन थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरका धेरैजसो क्वारेन्टाइनहरु विद्यालय, क्याम्पसमा स्थापना गरिएका छन् । कारोना नियन्त्रणमा राज्यलाई सहयोग गर्न जिम्मेवार ठान्दै विद्यालय, क्याम्पसहरुले क्वारेन्टाइनको व्यवस्थापन तथा रेखदेखमा सहयोग पुर्याईरहेको माध्यामिक विद्यालय मुर्कुचीका प्रधानाध्यापक खड्गबहादुर मगरले बताउनुभयो ।

कोरोना संक्रमण नियन्त्रणको अचुक उपाय लकडाउनको पूर्ण पालना र बाहिरबाट आएकाहरु क्वारेन्टाइनमा अनुशासित ढंगले बस्नु नै देखिएकोले यसप्रति सकारात्मक धारणा अझ बढि जगाउनु जरुरी छ ।