Thursday, May 21News That Matters

मृत व्यक्तीको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने एक गिरोह पक्राउ

पूर्णपुष्टि,वैशाख ९

झापा बिर्तामोडका स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने १० जनालाई पक्राउ गरि आज सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी–३ का ३९ वर्षीय मंगल सिंह राजवंशी, झापा भद्रपुर–७ का ५२ वर्षीय नवीन कोइराला, झापा बाह्रदशी–५ का ५० वर्षीय लिलाधर राजवंशी, झापा गौरीगंज–१ का ३७ वर्षीय बलराम विश्वकर्मा, झापा शिबसताक्षी–८ का ४२ वर्षीय भुपदेव कटुवाल रहेका छन् । त्यसैगरी झापा अर्जुनधारा–५ का ५३ वर्षीय लेखनाथ खनाल, झापा बिर्तामोड–४ का ३४ वर्षीय गोविन्द वान्तवा, बिर्तामोड–१० का ७१ वर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड–४ की ३३ वर्षीया रञ्जु राई र मोरङ उर्लाबारी–४ का ४८ वर्षीय राजन विश्वकर्मालाई आज सार्वजनिक गरिएको हो । 

उक्त समुहले झापा बिर्तामोड–१ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिममा पुर्व–पश्चिम राजमार्गमा जोडिएको स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३ दशमलव ७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त जग्गा ठगी गर्नको लागी पक्राउ परेका मध्ये देवी प्रसाद पाण्डेलाई नक्कली टुंग बहादुर बस्नेत खडा गरी नक्कली नागरिकता समेत बनाई २०७७ साल असोज २८ गते काठमाण्डांै जिल्ला अदालतबाट झापा बाह्रदशी–३ घर भई हाल बिर्तामोड–२ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको थियो । उक्त वारेशनामा मार्फत झापा बिर्तामोड–४ की रञ्जु राईको नाममा २०७७ साल माघ २१ गते राजिनामा पास गरेको घटनाको बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेको थियो । दरखास्त परेसगै १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह (आरआईटी) जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको पर्दाफास गर्दै घटनामा संलग्न रहेका मध्ये १० जनालाई पक्राउ गरि सार्बजनिक गर्न सफल भएको हो ।

यस ठगी धन्दामा अन्य सम्बन्धित निकायका प्रतिनिधीहरुको समेतको संलग्नता तथा पहिचान भई फरार रहेका उनीहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उपर ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।