
पूर्णपुष्टि, पुष २२
चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएको गुनासो आएपछि विभिन्न सात विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।
काठमाडौं मेडिकल कलेज सिनामंगल, नोवेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले बढी शुल्क लिएको घटनाप्रति आपत्ति जनाउँदै उनीहरूले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियूलगायत सात विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरेको हो ।
त्यसैगरी, एमबीबीएस अध्ययन गर्ने विद्यार्थीले विराटनगरको नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको भन्दै आन्दोलनरत विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
यसअघि कलेजले होस्टललगायत शीर्षकमा अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो ।
चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्कको विषयमा अध्ययन गर्न एक समिति गठन गरेको छ । धेरै मेडिकल कलेजहरुले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका बेला आयोगले मेडिकल कलेजहरुको अनुगमनका लागि टोली गठन गरेको हो ।

बुधबार शिक्षा. विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी मेडिकल कलेजहरुले बढी शुल्क लिएको पाइए चिकित्सा शिक्षा ऐन अनुसार सम्बन्धन खारेजसम्मको कारबाही गर्न सकिने बताएका छन् ।
मेडिकल कलेजहरुले तोकेको भन्दा बढी शुल्क लिएको वा नलिएको विषयमा अध्ययन गर्न आयोगले अनुगमन टोली नै गठन गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मेडिकल कलेजहरुलाई विगमा शिक्षा र गृह मन्त्रालयले निर्धारित भन्दा बढी शुल्क नलिन निर्देशन दिएको भन्दै विज्ञप्तिमा बढीशुल्क लिएको पाइए चिकित्सा शिक्षा ऐन २०७५ को दफा १४ अनुसार सम्बन्धन खारेजको कारबाही गर्न सक्ने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’

