Friday, May 22News That Matters

‘मेरो भ्वाइस यूनिभर्स’मा दीप श्रेष्ठको इन्ट्री, सन्दीप र रिमाले होस्ट गर्ने

पूर्णपुष्टि,चैत्र १९ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजनामा गर्न लागेको रियालिटी शो ुमेरो भ्वाइस युनिभर्सु को निर्णायकमा गायक दीप श्रेष्ठ भित्रिएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउन्डेशनका केन्द्रिय अध्यक्ष डिल्ली अधिकारीले निर्णायकमा दीप श्रेष्ठ भित्रिएको जानकारी दिए।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ नेपाल टेलिभिजन र एनटिभी प्लसबाट प्रसारण हुनेछ। यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरू हुन् । इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभाहरूलाई समावेश गर्दै ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन गरिरहेको छ ।

यो शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, सुरेश अधिकारी, अन्जु पन्त र सुजता बर्मा निर्णायकको रूपमा छन्। यस्तै कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्री र रीमा विश्वकर्माले होस्ट गर्नेछन्। उक्त कार्यक्रममा निर्णायक र होस्टसँग कागजी सम्झौता समेत गरिएको थियो।

आयोजकका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्।

यस्तै ‘मेरो डान्स युनिभर्स’ को विजेताले पनि एक करोड रूपैयाँ पुरस्कार पाउनेछन् भने फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन् । ‘डान्स युनिभर्स’ को सांस्कृतिक समुह विधाको विजेताले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फर्स्ट रनरअपले १० लाख रूपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।