
सुनसरी, असोज २८ गते ।
सुनसरीको कोशी कटानमा मोटरसाईलक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । कोशी गाउँपालिका–४ कटानमा एकआपसमा मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु भएको हो ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २२ प ८०४९ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को २९ प ६८५३ नम्बरको मोटरसाईकल सोमवार साँझ साँढे ६ बजे एक आपसमा ठोक्किदा दुईवटै मोटरसाईकलमा सवार रहेका ४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको थियो । उपचारको क्रममा को २२ प ८०४९ नम्बर मोटरसाईकलका चालक उदयपुरको तपेश्वर निबासी ५० बर्षीय निरीराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाईकलमा पछाडी सवार फत्तेपुर नगरपालिका–२ निबासी ५० बर्षीय भक्त बहादुर बिष्ट र को २९ प ७८५३ नम्बरको मोटरसाईकल चालक ईनरुवा नगरपालिका–४ निबासी २३ बर्षीय सबिर आलमको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाईकलमा पछाडी सवार ईनरुवा नगरपालिका–४ निबासी ३३ बर्षीय रियाज मियाको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
