Wednesday, June 17News That Matters

मोटर साईकलमा डबल हेल्मेटको छलफल स्थगित

पूर्णपुष्टि, माघ १९ गते ।
मोटर साईकल र स्कुटरमा डबल हेल्मेट बारे छलफल हाललाई स्थगित भएको छ । उक्त प्रस्तावको चौतर्फी आलोचना भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसमा थप छलफल नबढाएको हो। यसअघि मंगलबार उक्त प्रस्तावमाथि प्रारम्भिक छलफल भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठे हेल्मेटको महत्वबारे व्यापक जनचेतना जगाएपछि मात्र थप छलफल गर्नुपर्ने निष्कर्षमा पुगेको मन्त्रालयका एक अधिकारीले बताएको छ । ‘हिजो प्रारम्भिक छलफल मात्रै भएको हो। चौतर्फी विरोधपछि थप छलफल नगर्ने कुरा भएको छ,’ उनले भने ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्नेका लागि पनि हेल्मेट अनिवार्य गर्नुपर्ने विषयमा छलफल भएको थियो। सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख भएअनुसार कार्यान्वयनका लागि छलफल गरिएको मन्त्रालयले बताएको थियो ।
मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटनामा परे जीवनै जोखिममा पर्ने गरेकाले यस विषयमा छलफल गरिएको मन्त्रालयको भनाइ थियो।